चितवन । त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि भदौ १४ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने भएको छ। सडक भासिएपछि नजिकैको पहाड काटेर खोलिएको नयाँ ट्र्याकको निर्माण तथा सडक पुनःस्थापनाको काम अन्तिम चरणमा पुगेपछि बिहीबार बिहान ६ बजेदेखि यातायात सञ्चालन गर्न लागिएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याकको बाँकी काम पूरा हुनेछ। अहिले ग्राभेल हाल्ने र नाली निर्माणको काम भइरहेको उनले बताए।
“साँझसम्ममा हामी सबै काम सक्छौँ,” ढकालले भने।
कृष्णभिरमा रातिको समयमा पनि सवारी सञ्चालन सहज बनाउन बेनीघाट रोराङ गाउँपालिकाले सडकमा फ्लडलाइट जडान गरिरहेको छ। फ्लडलाइट जडान भएपछि राति पनि नयाँ ट्र्याक हुँदै सवारी सञ्चालन गर्न सहज हुने सडक आयोजनाले जनाएको छ।
पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार बिहीबार बिहान ६ बजेदेखि कृष्णभिरमा पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ।
१०० मिटर सडक क्षतिग्रस्त
त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा करिब १०० मिटर सडक क्षतिग्रस्त भएपछि राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडकको तल्लो भाग नै बगाएपछि पुरानै सडकबाट सवारी सञ्चालन गर्न सक्ने अवस्था थिएन।
सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो। छोटो समयमै पहाड काटेर सडकको नयाँ भाग निर्माण गरी यातायात सञ्चालनको तयारी गरिएको हो।
मन्त्रालयका अनुसार आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण र सडक पुनःस्थापनाको काम अघि बढाइएको थियो।
रोकिएका सवारी आजै पार गराउने
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बुधबार साँझसम्म काम सम्पन्न भएमा कृष्णभिरमा रोकिएका सवारीसाधनलाई बुधबार नै पार गराउने तयारी रहेको बताइन्।
उनका अनुसार साँझसम्मको निर्माण प्रगति समीक्षा गरेर रोकिएका सवारीसाधनलाई पार गराउने व्यवस्था मिलाइनेछ। बिहीबार बिहानदेखि भने नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन हुनेछ।
लामो समयदेखि कृष्णभिरमा सडक अवरुद्ध हुँदा विशेषगरी ठूला मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको थियो। यसका कारण राजधानी काठमाडौं जाने र राजधानीबाट बाहिरिने मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए।
तुइन खोलाको समस्या पनि कम हुने
कृष्णभिरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रोकिएका सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाउन सहज हुने भएको छ।
कृष्णभिरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप र व्यवस्थापनमा समस्या परेको थियो। कृष्णभिर खुलेपछि रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन सकिनेछ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभिरमा यातायात सञ्चालन भएपछि तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिनेछ।
कृष्णभिरको सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन हुँदै काठमाडौं जाने तथा बाहिरिने सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी लामो समयदेखि रोकिएका ठूला सवारीसाधन सञ्चालनमा आएपछि मालसामान ढुवानीमा परेको अवरोधसमेत कम हुने भएको छ।

