काठमाडौं। सरकारले पुँजीबजार सुधारको लागि २१ बुंदे मार्गदर्शन सार्वजनिक गरे लगत्तै मंगलबार ४८ दशमलव ५७ अंकले उकालो लागेको नेप्सेको उच्च बृद्धिमा त्यसपछिको कारोबार दिन भने ब्रेक लागेको छ । सो अनुसार साताको तेस्रो कारोबार दिन आज बुधबार शेयर बजार परिसुचक नेप्से २१ दशमलव १९ अंकले ओरालो लागेर २६ सय १२ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७७ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५० वटा कम्पनीहरुको ५५ हजार आठ सय ३१ पटकको कारोबारमा एक करोड ५१ लाख एक हजार पाँच सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार छ सय ४८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै देखिएको छ ।

