बिहीबार, १ असोज २०८३ | ११:०२ AM
१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति…

१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

लगानीबक्स सम्वाददाता १ असोज २०८३ १०:१२ पूर्वाह्न

काठमाडौं । १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट एक जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरिएको सूक्ष्म अनुसन्धान तथा बैंकिङ कारोबारको विश्लेषणबाट ठूलो रकमको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको हो।

अनुसन्धानका क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको सीआईबीले जनाएको छ। उक्त कसूरमा संलग्न रहेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखियालाई पक्राउ गरिएको हो।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले भदौ ३० गते साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट मुखियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

साथै, उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।