काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यस वर्ष कुल २८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चक्तापूँजीको आधारमा साधारण शेयरधनीहरुका लागि कुल २० प्रतिशत र अग्राधिकार शेयरधनीका लागि ८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले निश्चित लाभांश तोकेर जारी गरेको अग्राधिकार शेयरधनीका लागि कर समेत ८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
साधारण शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव गरिएको कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको साधारण शेयरपूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार रुपैयाँ छ भने अग्राधिकार शेयरपूँजी ३ अर्ब ५० करोड रुपैयाँ छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरि लाभांश वितरण हुनेछ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले साधारण शेयरधनीहरुका लागि बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

