काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्को समयमा प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताएका छन्।
मन्त्री श्रेष्ठका अनुसार ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार प्रभावित परिवारलाई राहत पुग्ने गरी आवश्यक निर्णय अघि बढाइएको हो। अन्य ग्राहकबाट संकलन हुने विद्युत् शुल्कसमेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी सहजीकरण गरिने उनले बताएका छन्।
भदौदेखि न्यूनतम विद्युत् बिलिङ नहुने
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी बाढीबाट क्षति पुगेका ग्राहकको हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ। त्यसैगरी, बाढीका कारण क्षति पुगेका घर, व्यवसाय तथा उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ।
मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
थप छुटबारे अध्ययन हुँदै बाढी प्रभावित क्षेत्रमा विद्युत् महसुलमा थप सहुलियत वा छुट उपलब्ध गराउने विषयमा समेत अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ।
बाढीबाट प्रभावित १५ वटा पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा छ। सेवा पुनः सञ्चालनसँगै प्रभावित ग्राहकलाई विद्युत् महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्ने विषयमा प्राधिकरणले अध्ययन गर्नेछ। प्राधिकरणले अध्ययनका आधारमा यसै साता विद्युत् महसुलमा दिइने थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरेको छ।
बाढीका कारण विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा ठूलो क्षति पुगेका नागरिकलाई विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भारबाट राहत दिलाउने उद्देश्यले प्राधिकरणले सहजीकरण अघि बढाएको हो।
यस निर्णयबाट रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवार, उद्योगी तथा व्यवसायीलाई विद्युत् सेवा पुनः सञ्चालन र आगामी महसुल भुक्तानीमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

