बिहीबार, १ असोज २०८३ | १:५३ PM
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला

असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला

लगानीबक्स सम्वाददाता १ असोज २०८३ १:०० अपराह्न

काठमाडौं । सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गरेको छ। हाललाई काठमाडौं उपत्यकाबाहिर सार्वजनिक सवारीसाधन दर्ता गर्न पाउने व्यवस्था गरिएको छ भने विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिइएको छ।

यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र सार्वजनिक सवारीसाधन दर्ता खुला गरिएको छ। सोहीअनुसार सवारीसाधन दर्ता प्रक्रिया अघि बढाउन विभागले सबै प्रदेश सरकारलाई सूचित गरेको छ।

यसअघि सरकारले जेठ ७ गतेदेखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। तर दर्ता रोक्नुको कारण तथा अहिले कुन आधारमा पुनः दर्ता खुला गरिएको हो भन्नेबारे विभागका अधिकारीले स्पष्ट जानकारी दिएका छैनन्।

विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यकाबाहिर सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको हो।

मालवाहक सवारीसाधनको दर्ता यसअघि नै खुला

विभागले मालवाहक सवारीसाधनको दर्ता भने साउन १८ गतेदेखि नै खुला गरिसकेको थियो।

विभागका अनुसार त्यसअघि असार ८ गतेसम्म एलसी खोलिसकेका तथा नेपाल आइसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गरिएको थियो।

अब असोज १ गतेदेखि उपत्यकाबाहिर सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः सुरु भएसँगै यातायात व्यवसायीलाई नयाँ सवारीसाधन सञ्चालन गर्ने बाटो खुलेको छ। सरकारले भने विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिने नीति अघि सारेको छ।