काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन ९आरडिएनए० प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा मात्रै करिब ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकमा भएको छ। बैंकको एउटा शाखामा मात्रै करिब ६५ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।
त्यस्तै, सिटिजन बैंकको एक शाखा प्रभावित हुँदा १ करोड ५६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको एक शाखामा ११ लाख रुपैयाँ, हिमालय बैंकको एक शाखामा ७५ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकको एक शाखामा १ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
माछापुच्छ्रे बैंकको एक शाखामा ७५ लाख रुपैयाँ तथा नबिल बैंकको एक शाखामा ६३ लाख रुपैयाँ क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
एनआईसी एसिया बैंकका तीन शाखा प्रभावित हुँदा ८८ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन शाखामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यसैगरी, एनएमबी बैंकको एक शाखामा ४ लाख रुपैयाँ, प्रभु बैंकका दुई शाखामा ५३ लाख रुपैयाँ र सानिमा बैंकको एक शाखामा ६३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ।
विदुरमा सबैभन्दा बढी क्षति
बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवासँग सम्बन्धित संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रतिवेदनअनुसार नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार शाखामा ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा बैंक शाखामा ४ करोड २३ लाख रुपैयाँ, कालिका गाउँपालिकामा एक शाखामा २८ लाख रुपैयाँ र उत्तरगया गाउँपालिकामा एक शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।
यसरी बैंकका शाखामा भएको क्षतिबाहेक बाढीबाट प्रभावित बैंकिङ तथा वित्तीय सेवासँग सम्बन्धित क्षेत्रमा थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
उक्त अतिरिक्त क्षतिमध्ये नुवाकोटको विदुरमा ६ करोड ४० लाख रुपैयाँ, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लाख रुपैयाँ, कालिका गाउँपालिकामा ७९ लाख रुपैयाँ र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
भोटेकोशी बाढीबाट बैंकका शाखा तथा वित्तीय सेवासँग सम्बन्धित पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत असर पारेको छ। प्रतिवेदनले बाढीबाट भएको क्षतिको विवरणका साथै पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत र प्राथमिकताको पहिचान गर्ने उद्देश्य राखेको छ।

