काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरियन्टल को–अपरेटिभका ८ जना, तुलसी बहुमुखी सहकारीका ९ जना र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। अब बचतको रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाबमोजिम बचत फिर्ता गर्ने कार्य निरन्तर भइरहेको समितिले जनाएको छ। समितिले समस्याग्रस्त सहकारीका बचतकर्तालाई उपलब्ध स्रोत र असुली भएको रकमका आधारमा चरणबद्ध रूपमा रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

