कालिञ्चोक दर्शनको शेयर विक्रीका लागि फेरी थप भए आधारभूत शेयरधनी
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको शेयर विक्री गर्न फेरी दुई आधारभूत शेयरधनी थपिएका छन् । शुक्रवार कम्पनीले हरिश चटौत र बबिन सिवाकोटीले शेयर विक्रीका लागि लिखित निवेदन पेश गरेको जानकारी नेप्सेमार्फत गराएको हो । कम्पनीका अनुसार हरिश चटौतले १ लाख ५७ हजार ५०० र बबिन सिवाकोटीले १ लाख ५७ हजार ५६३ कित्ता शेयर धारण गरेका छन् । तीन महिनाभित्र दोस्रो बजारमा यी शेयर विक्री गर्ने जानकारी यी शेयरधनीहरुले कम्पनीमा गराएका हुन ।
यस अघि रमेश राज शिवाकोटीले १ लाख २२ हजार १० कित्ता , उमेश राज शिवाकोटीले ३ लाख २८ हजार १५६ कित्ता, गुरु प्रसाद अधिकारीले ६ लाख १ हजार २३० कित्ता, सुजन उप्रेतीले ९४ हजार ५०० कित्ता, थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता र गिता उप्रेतिले ७८ हजार ७५० कित्ता शेयर विक्री गर्न कम्पनीलाई लिखित जानकारी गराएका छन् । हालसम्म ६ जना आधारभूत शेयरधनीहरुले आफ्नो शेयर विक्री गर्ने जानकारी कम्पनीलाई दिएका हुन ।
भदौ ९ गते नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुमा एक निर्देशन जारी गर्दै आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्न चाहेमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।
यस कम्पनीको कुल ६३ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छन् । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतफै २० प्रतिशत स्वामित्व भएपछि हाल कम्पनीको संस्थापक शेयर पनि सर्वसाधारण शेयरको मूल्यमा कारोबार भैरहेको छ । कम्पनीको तीन वर्षसम्म लकइनमा रहेको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीय तर्फको शेयर समेत गत माघ १७ गतेपछि लकइन खुला भैसकेको छ ।
लकइन खुला भएपनि दोहोरो आईजीनको विवादका कारण कारोबार हुन नसकेको संस्थापक शेयर भदौ १७ गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एकल आईजीन प्रदान गरेसँगै कम्पनीको संस्थापक तर्फको शेयर समेत कारोबारमा आएको हो ।

