शुक्रबार, २ असोज २०८३ | ६:४२ PM
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४१० पुग्यो

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४१० पुग्यो

लगानीबक्स सम्वाददाता २ असोज २०८३ ४:५३ अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो २ बजेसम्म १ हजार ४१० जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १९९, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो। यस्तै, काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २४६ वटा शव व्यवस्थापन गरिएको छ। पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९१ गरी कुल ३ हजार २७७ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ९० जनाको खोजी कार्य जारी छ। यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ८०६ जनालाई राखिएको छ।