शुक्रबार, २ असोज २०८३ | ७:२५ PM
नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल-भारत आर्थिक तथा रणनीतिक…

नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

लगानीबक्स २ असोज २०८३ ६:४४ अपराह्न

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिनुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका उहाँले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताउनुभयो । नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच (Diplomatic Roundtable) संवादलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसले पुर्‍याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति आभार व्यक्त गर्नुभयो। विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’ (Build Back Better) को अवधारणा दृढतापूर्वक लागू गरिरहेको उहाँले जानकारी दिनुभयो।

जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको मुद्दालाई नेपाल भारतले सँगै मिलेर अघि बढाउनुपर्ने बताउनुभयो। साथै, परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकास वित्त (Development Finance) का बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणहरूको अधिकतम परिचालनमा उहाँले जोड दिनुभयो।
लगानी तथा सहकार्य

उहाँले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार (Reforms) गरी व्यापार घाटा न्यूनीकरण र गैर-भन्सार अवरोधहरूको निराकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत र कानुनी सुधार गरिएकाले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (FDI) बढाउन उहाँले भारतीय पक्षलाई आह्वान गर्नुभयो।
जनआदेश, सुशासन र विकास आकांक्षा

अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकार नेपाली जनताको भारी जनआदेशबाट बनेको स्मरण गराउँदै जनताको तीव्र विकास र आर्थिक रूपान्तरणको चाहनालाई पूरा गर्न सरकार पूर्ण रूपमा समर्पित रहेको बताउनुभयो। “हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,” उहाँले भन्नुभयो, “वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता (Zero Tolerance to Corruption) र सुशासन कायम गर्न दृढ छ। पारदर्शी र जबाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो।”
उच्चस्तरीय सहभागिता र विमर्श

कार्यक्रममा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको आयोजना स्थल समेत रहेको इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) का अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले गोलमेच संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। हाल आईआईसीको नेतृत्व सम्हालिरहनुभएका शरणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा यस्ता गहन र खुला विमर्शहरू फलदायी हुने धारणा राख्नुभयो।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उप-राष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण, प्रख्यात अर्थशास्त्री तथा जेएनयूका एमेरिटस प्रोफेसर (पूर्व उपकुलपति, दिल्ली विश्वविद्यालय) प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसन (ITPO) का अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टी (भाजपा) विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति, द हिन्दूकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर र नेपाली प्रतिनिधि मण्डल सहभागी हुनुहुन्थ्यो ।

छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गर्नुभएको थियोे । सहभागीहरूले दुवै देशको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रहरूलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।