आइतबार, ४ असोज २०८३ | १२:२५ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

लगानीबक्स ३ असोज २०८३ १०:१२ अपराह्न

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक-व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले आज स्वदेश फर्कनुभएको हो।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो। साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ।
बिहीबार उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा नेपाल-भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो। शुक्रबार उहाँ पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

त्यसै दिन उहाँले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नुभयो। सोही दिन साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्नुभएको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी हुनुभयो।

सोही दिन दिउँसो उहाँले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गर्नुभयो। शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि उहाँ सहभागी हुनुभयो।

सोही दिन अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउनुभयो।
शनिबार नै उहाँ दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।