नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती–८ फलफूलचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १६/१७ महिनाकी एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले बाटो काट्ने क्रममा रहेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँची घर भई हाल कावासोती नगरपालिका–११, कुडौली बस्दै आएकी अन्दाजी २४/२५ वर्षीया पुष्पा चौहान गम्भीर घाइते भएकी छन्। बेहोस अवस्थामा रहेकी उनलाई नवलपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकी उनकी अन्दाजी १६/१७ महिनाकी छोरीलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सूर्य बि.सी. भने सकुशल रहेका छन्।
घटनापछि ट्रक र ट्रक चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१४ निवासी अन्दाजी ३० वर्षीय सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

