सोमबार, ५ असोज २०८३ | ३:०८ PM
यती एयरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख…

यती एयरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

लगानीबक्स सम्वाददाता ५ असोज २०८३ २:१५ अपराह्न

काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा २८ वर्ष पूरा गरेको यती एअरलाइन्सले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा प्रदान गर्न सफल भएको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, सुरक्षा र समग्र यात्रु अनुभवलाई आफ्नो व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको जनाएको छ । पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नु कम्पनीको व्यावसायिक उपस्थितिसँगै नेपाली यात्रुमाझ रहेको निरन्तर विश्वासको महत्वपूर्ण सूचक भएको कम्पनीको भनाइ छ ।

नेपालको आन्तरिक हवाई बजार सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धालगायत चुनौतीबीच अघि बढिरहेको कम्पनीले बताएको छ । यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई सहज बनाउने प्रयास गर्दै आएको जनाएको छ । यात्रुका सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई थप प्रभावकारी बनाउनेतर्फ पनि कम्पनी केन्द्रित रहेको जनाएको छ ।

यतीका अनुसार उड्डयन सुरक्षा कम्पनीको मुख्य प्राथमिकतामा छ । सञ्चालन प्रक्रिया, प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको कम्पनीले जनाएको छ । नेपालमा हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको छ । यतीले विभिन्न प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ । २८औँ वार्षिकोत्सव यती एअरलाइन्सका लागि विगतको उपलब्धि सम्झने अवसरसँगै आगामी यात्राको दिशा तय गर्ने अवसर पनि बनेको छ ।