सोमबार, ५ असोज २०८३ | ३:०१ PM
त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते

त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी, चालक घाइते

लगानीबक्स सम्वाददाता ५ असोज २०८३ २:४५ अपराह्न

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि गुडिरहेको रिद्धिसिद्धी यातायातको बसमा सोमबार दिउँसो आगलागी भएको छ। आगलागीमा बसका चालक घाइते भएका छन्।

भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको बसमा दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीमा बस चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक आफैंले बसमा आगो लगाएको जानकारी आएको छ। यद्यपि, आगो लगाउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयले बसमा आगलागी कसरी भयो भन्ने विषयमा यकिन जानकारी नआएको जनाएको थियो। प्रत्यक्षदर्शीका अनुसार चालकको सिट नजिकबाट आगो लागेको देखिएको थियो। आगलागीबाट बसमा भएको क्षतिको विवरण खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।