काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो १२ः१० बजे पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र. ०२–००१ ह १६५७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उद्धार कार्य गरेको थियो। अटोमा चालकसहित तीन जना सवार रहेका थिए। घाइतेहरूलाई प्रहरीको गाडीमार्फत दुल्लु अस्पताल पुर्याइएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ निवासी ७४ वर्षीय राम कामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक भैरवी गाउँपालिका–२ निवासी २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ निवासी ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन्। उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

