सोमबार, ५ असोज २०८३ | ७:५६ PM
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

लगानीबक्स सम्वाददाता ५ असोज २०८३ ६:५४ अपराह्न

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३र८४’ सार्वजनिक गरेको छ । बैंकका अनुसार प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो।

योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम रु। ३ करोडसम्म कर्जा लिन सकिनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष कायम गरिएको छ भने सेवा शुल्क ०।५० प्रतिशत निर्धारण गरिएको बैंकले जनाएको छ। त्यस्तै, कर्जाको ब्याजदर औसत आधार दरमा थप ०।५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।

बैंकका अनुसार यो सुविधा देशभर रहेका ३०० वटा शाखामार्फत उपलब्ध हुनेछ। योजनामा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै जग्गा खरिदका लागि समेत कर्जा सुविधा समावेश गरिएको छ। यसैगरी, योजनाअन्तर्गत ग्राहकका बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जा सुविधा उपलब्ध गराइनेछ। उक्त कर्जामा औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदर लाग्नेछ। साथै, कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट र पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।

प्रभु बैंकले विप्रेषणमार्फत प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गर्दै निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ योजनामार्फत प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई औपचारिक बैंकिङ प्रणालीमा थप प्रभावकारी रूपमा परिचालन गर्नुका साथै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।बैंकले योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपालीलाई आफ्नो र परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण तथा खरिद गर्न आवश्यक वित्तीय स्रोतमा सहज पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।