काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढी तथा डुबानका कारण क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न क्षतिको विवरण संकलन गर्न थालेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक विज्ञप्ति जारी गर्दै बाढी र डुबानका कारण भन्सार नाका, गोदाम तथा शोरुमहरूमा रहेका सवारीसाधन, भौतिक संरचना र उपकरणमा ठूलो क्षति पुगेको जानकारी गराएका छन्।
कठिन परिस्थितिमा व्यवसायीहरूलाई राहत, बीमा दाबी भुक्तानी र ऋण पुनर्संरचनामा सहजीकरण गर्न नाडाले आफ्ना सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ र प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।
व्यवसायीहरूले नाडामा पठाउनुपर्ने क्षतिको विवरण
- क्षति भएका वा हराएका/सम्पर्क विहीन सवारीसाधनको संख्या र प्रकार
- सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाकाको विवरण
- गोदाम, कार्यालय र भौतिक संरचनामा भएको क्षतिको विवरण
- बीमा गरिएको सम्पत्तिको विवरण र आवश्यक कागजात
- बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष क्षति
प्राप्त विवरणका आधारमा नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था र भन्सार कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने बताएको छ। साथै, बीमा दाबी प्रक्रियालाई शीघ्र बनाउन र ऋणको पुनर्संरचना तथा भुक्तानी अवधि पुनरावलोकनका लागि नीतिगत पहल गरिने नाडाले जनाएको छ।
व्यवसायीका समस्या समाधानका लागि आवश्यकता अनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी समस्या सम्बन्धित निकायसम्म पुर्याइने अध्यक्ष उप्रेतीले बताएका छन्।

