काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै असोज मसान्तभित्र विवरण अद्यावधिक गर्न भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको व्यवस्थाअनुसार अब अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण प्रमाणीकरण गरेर मात्र वालेट खाता खोल्न पाउनेछन्।
नयाँ व्यवस्थाअनुसार भुक्तानी सेवा प्रदायकहरूले असोज मसान्तभित्र प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्र भए वा नभएको स्वःघोषणा लिनुपर्नेछ। साथै, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा परिचयपत्र नम्बर अनिवार्य रूपमा अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
परिचयपत्र नलिएका नागरिकलाई भने ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्न प्रत्येक महिना एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ।
विदेशमा बसोबास गर्ने नेपालीहरूले राष्ट्रिय परिचयपत्रबिना पनि आवश्यक अन्य कागजातका आधारमा अनलाइन वालेट खाता खोल्न सक्नेछन्। तर, नेपाल फर्किएको ३५ दिनभित्र आफ्नो विवरण अद्यावधिक गराउनुपर्ने प्रावधान राखिएको छ।
त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न तथा कारोबार गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र पारदर्शी बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको राष्ट्र बैंकले उल्लेख गर्दै समयमै विवरण अद्यावधिक गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।


