काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा मंगलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्ध तथा शान्ति स्थापनाका क्षेत्रमा हासिल गरेका उपलब्धि प्रस्तुत गर्ने भएका छन्।
ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजाको द्वन्द्व अन्त्य गर्न गरिएको पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब राष्ट्रलाई सहभागी गराउने प्रयासबारे धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, हर्मुज जलडमरूमध्यमा युद्धका कारण उत्पन्न अवरोध र त्यसबाट परेको आर्थिक प्रभावबारे पनि उनले आफ्नो पक्ष राख्नेछन्।
इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीका अनुसार ट्रम्पले आफूलाई शान्ति स्थापना गर्ने नेता र आवश्यक पर्दा सैन्य कारबाहीका समर्थक दुवै रूपमा प्रस्तुत गर्न सक्नेछन्। महासभामा उनले संयुक्त राष्ट्रसङ्घप्रतिको आलोचना पनि दोहोर्याउन सक्ने अनुमान गरिएको छ।
गत वर्ष संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा एस्केलेटर र टेलिप्रोम्प्टरसम्बन्धी समस्याप्रति असन्तुष्टि जनाएका ट्रम्पका लागि यसपटक आवश्यक प्राविधिक व्यवस्थामा सुधार गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। महासभाका क्रममा ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जापानका प्रधानमन्त्री साने तकाइची र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय बैठकमा युद्ध, कृत्रिम बौद्धिकता, विश्वव्यापी सुरक्षा र आर्थिक चुनौतीका विषयमा छलफल भइरहेको छ।

