काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले असोज ८ देखि १० गतेसम्म हुन सक्ने भारी वर्षाको सम्भावित अवस्थाबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरेका छन्।
मंगलबार महाशाखा पुगेर मन्त्रीद्वयले पछिल्लो मौसमी अवस्था, आगामी दिनमा हुन सक्ने वर्षाको सम्भावना तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सम्बन्धित अधिकारीसँग छलफल गरेका हुन्।
महाशाखाका अधिकारीहरूले उनीहरूलाई हालको मौसम प्रणाली, आगामी दिनको वर्षासम्बन्धी पूर्वानुमान तथा सम्भावित भारी वर्षाले पार्न सक्ने प्रभावबारे जानकारी गराएका थिए। साथै, सम्भावित जोखिम न्यूनीकरणका उपायबारे पनि छलफल भएको बताइएको छ।
असोज ८, ९ र १० गते देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान भइरहेका बेला गृहमन्त्री गुरुङ र ऊर्जामन्त्री श्रेष्ठले मौसमको पछिल्लो अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै आवश्यक तयारी र सतर्कताका विषयमा चासो व्यक्त गरेका छन्।

