मंगलबार, ६ असोज २०८३ | ८:५९ PM
सडक ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लगानीबक्स सम्वाददाता ६ असोज २०८३ ६:०५ अपराह्न

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ–माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा भएको ठेक्का प्रक्रियामा अनियमितता भएको हो ।

कम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्नेमा उक्त कम्पनीलाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने ‘छल निर्माण सेवा’लाई ठेक्का दिइएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार करिब ३४ लाख रुपैयाँ प्रस्ताव गर्ने कम्पनीलाई अयोग्य ठहर गरी १ करोड ८ लाख रुपैयाँ कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको थियो ।

उक्त ठेक्का प्रक्रियामा सार्वजनिक रकममा अनियमितता भएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामध्ये त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र बिष्ट छन् ।

त्यस्तै, सडक निर्माणको बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ तथा छल निर्माण सेवा प्रा.लि.का सञ्चालक दिपचन्द्र रोकायाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।