काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनामा भोटेकोसीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको छ ।
त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले असोज ४ गते नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलगायत निकायलाई पत्र पठाउँदै आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी गराएको हो । कम्पनीका अनुसार बाढीपछि आयोजनामा कार्यरत कर्मचारी, परामर्शदाता, निर्माण व्यवसायीका कामदार तथा उनीहरूका परिवारका सदस्य गरी १८५ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये हालसम्म ६ जनाको शव फेला परेको छ भने १७९ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा कम्पनीका २१ जना करार कर्मचारी, ६ जना पारिवारिक सदस्य, १८ जना परामर्शदाता, एचएनएसी जियाङ्गे जेभीका ७ जना र फेवा कन्स्ट्रक्सन लिमिटेडका १३३ जना रहेका छन् । नेपाली सेना र कम्पनीको टोलीले भदौ १४ गतेदेखि निरन्तर खोज तथा उत्खनन गरिरहेको जनाएको छ । कम्पनीका अनुसार खोज तथा उत्खनन कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।
बाढीले आयोजनाका कार्यालय तथा आवासीय भवनहरू पूर्ण रूपमा बगाएको छ । उत्खननका क्रममा भवनका भग्नावशेषसमेत फेला नपरेको र ठूला ढुंगा तथा क्षतविक्षत कंक्रिट मात्रै भेटिएको कम्पनीले जनाएको छ । त्यसैगरी आयोजनाका सवारीसाधन, हेडपोन्ड, एप्रोच प्रेसर कन्ड्युट तथा पावरहाउस क्षेत्र पूर्ण रूपमा बगाएको छ । सुरुङमा भने आंशिक क्षति पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजनाका भौतिक संरचना, सवारीसाधन तथा कर्मचारीहरूको बीमा हाल चालु अवस्थामा छ । आयोजनामा कन्ट्र्याक्टरस् अल रिस्क, इरेक्शन अल रिस्क, सवारी तथा सामूहिक दुर्घटना बीमा लागू रहेको कम्पनीले जनाएको छ ।

