बुधबार, ७ असोज २०८३ | १:०४ PM
मुक्तिनाथ म्युचुअल फण्ड–२ को योजनाको इकाई खरीदका लागि आवेदन दिने…

मुक्तिनाथ म्युचुअल फण्ड–२ को योजनाको इकाई खरीदका लागि आवेदन दिने अवधि लम्बियो

लगानीबक्स ७ असोज २०८३ ११:५५ पूर्वाह्न

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज १ गतेदेखि निष्कासन गरेको मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई खरीद अवधि लम्बिएको छ । छिटो अवधि असोज ६ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि असोज १५ गतेसम्मको मिति तोकिएको हो । यो मितिभन्दा अगाबै माग बमोजिम आवेदन प्राप्त भएमा जुनकुनै दिन निष्कासन बन्द गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ ।

क्यापिटलले दोस्रो सामूहिक लगानीकोष योजना सञ्चालनमा ल्याउन लागेको हो । यस अघि मुक्तिनाथ म्युचुअल फण्ड–१ सञ्चालनमा ल्याएको क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड–२ नामको अर्को योजना सञ्चालन गर्न लागेको हो । यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

कुल इकाईमध्ये १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो । खरीद आवेदन पेश गर्दा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिनेछ । इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडलेनै पुरा गर्नेछ। आवेदन पेश गर्दा विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत पेश गर्नुपर्नेछ ।

साथै मेरो शेयर अनलाईन पनि आवेदनका लागि खुला रहनेछ। यो योजना बन्दमुखी प्रकृतिको १० वर्षे अवधिको योजना हो । बन्दमुखी प्रकृतिको योजना भएकाले दोस्रो बजारमा पनि सूचीकृत भई कारोबार गर्न मिल्नेछ ।