काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनी र सहायक कम्पनीहरुको गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला तीन आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को लागि कर समेत २ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस कम्पनीले आर्थिक वर्ष ०७८।७९ पछि लाभांश वितरण गरेको थिएन । उक्त वर्ष १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले विगतका वर्षहरुमा ३४ दशमलव ७४ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास छ । आर्थिक वर्ष ०७०।७१ को मुनाफाबाट कम्पनीले हालसम्मकै उच्च उल्लेखित लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ७९ करोड १६ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा रहेको वितरणयोग्य नाफा गत वर्ष सुधारिएको हो ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज १६ गते शुक्रवारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

