बुधबार, ७ असोज २०८३ | २:५६ PM
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त, चार वर्षका लागि जिम्मेवारी

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त, चार वर्षका लागि जिम्मेवारी

लगानीबक्स सम्वाददाता ७ असोज २०८३ २:०० अपराह्न

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथग्रहणपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारका लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित हुने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउँदै वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजना कार्यान्वयन गर्न आग्रह गरे। उनले विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु प्रमुख चुनौती रहेको उल्लेख गर्दै बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए।

लोककल्याणकारी विज्ञापन वितरणलाई वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्ने धारणा राखे। नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसम्बन्धी नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सुशासन, नागरिकमैत्री सेवा प्रवाह तथा विज्ञापन क्षेत्रको सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए।

नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्। उनले काठमाडौंस्थित किङ्ग्स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन्।