काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी असोज ८ गतेदेखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहने पूर्वानुमानलाई ध्यानमा राख्दै सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालनमा विशेष सावधानी अपनाउन व्यवसायीलाई आग्रह गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी पूर्वसूचनाका आधारमा यातायात क्षेत्रलाई तयारी अवस्थामा रहन अनुरोध गरेका हुन्। महासंघले सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधन, चालक, परिचालक र बुकिङ कर्मचारीलाई सेवा सञ्चालन गर्नुअघि सडक तथा मौसमको अवस्था बुझ्न तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
महासंघले अत्यावश्यक कामबाहेक उक्त अवधिमा लामो दूरी तथा रातिको यात्रा नगर्न सर्वसाधारणलाई पनि अनुरोध गरेको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको जनाएको छ। त्यस्तै, जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न महासंघले आग्रह गरेको छ।
महासंघले आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको उच्च जोखिम भएका क्षेत्र र नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन अनुरोध गरेको छ। वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ। साथै, मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।

