काठमाडौं । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो छ घण्टामा १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ सर्दै गएको छ। भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० का अनुसार बुधबार बिहान ५ः३० बजे उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा अवस्थित थियो।
मौसम विभागका अनुसार उक्त प्रणाली बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबीच पर्ने कलिङ्गपट्टनम आसपासबाट स्थलतर्फ प्रवेश गर्ने सम्भावना छ। ‘डीप डिप्रेसन’ समुद्रमा विकसित हुने न्यून चापीय प्रणालीको शक्तिशाली अवस्था हो, जसले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याउन सक्छ। यसको प्रभावस्वरूप भारतका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको छ। मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको चेतावनी जारी गरिएको छ। बिहारका ३८ वटै जिल्लामा वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पहेँलो सतर्कता जारी गरिएको छ।
यता राजस्थानमा भने वर्षा रोकिएसँगै तापक्रम बढेको छ। जेसलमेरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ भने बीकानेर र बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। सेप्टेम्बरमै मे महिनाजस्तै चर्को गर्मी महसुस हुन थालेपछि राजस्थानमा जनजीवन प्रभावित भएको छ। मौसम विभागका अनुसार आगामी चारदेखि पाँच दिनसम्म राज्यमा मौसम मुख्यतः सुक्खा रहने र तापक्रम अझै बढ्न सक्ने सम्भावना छ।

