बुधबार, ७ असोज २०८३ | ११:१७ PM
उच्च सतर्कताबीच कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम र विपद् तयारीबारे…

उच्च सतर्कताबीच कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम र विपद् तयारीबारे जानकारी

लगानीबक्स ७ असोज २०८३ ९:३७ अपराह्न

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी केही दिनको मौसमी अवस्था र सम्भावित विपद् जोखिमबारे जानकारी लिनुभएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई मौसमको प्रक्षेपण तथा जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी गराउनुभएको हो।

छलफलका क्रममा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) र मनसुनी वायुको सक्रियताका कारण देशभर उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो। त्यसैगरी, सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याइएको तथा प्रभावित हुन सक्ने जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात र पूर्वाधारलगायतका निकायसँग समन्वय भइरहेको कार्यकारी प्रमुख डा. उप्रेतीले बताउनुभयो।

अधिकारीहरूले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने अनुमान रहेको जानकारी पनि कार्यवाहक प्रधानमन्त्रीलाई गराएका थिए।