काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले असोज १ गतेदेखि निष्कासन गरेको मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई खरीद अवधि असोज ८ गते बिहीवारसम्म तोकिएको छ। बुधवार छिटो अवधि असोज ६ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि असोज १५ गतेसम्मको मिति तय गरेको क्यापिटलले बिहीवार माग बमोजिम आवेदन प्राप्त भएकाले बिहीवारसम्म मात्र निष्कासन गरिने जानकारी दिएको हो ।
क्यापिटलले दोस्रो सामूहिक लगानीकोष योजना सञ्चालनमा ल्याउन लागेको हो । यस अघि मुक्तिनाथ म्युचुअल फण्ड–१ सञ्चालनमा ल्याएको क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड–२ नामको अर्को योजना सञ्चालन गर्न लागेको हो । यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिएको हो ।
कुल इकाईमध्ये १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो । इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडलेनै पुरा गरेको छ ।
यो योजना बन्दमुखी प्रकृतिको १० वर्षे अवधिको योजना हो । बन्दमुखी प्रकृतिको योजना भएकाले दोस्रो बजारमा पनि सूचीकृत भई कारोबार गर्न मिल्नेछ ।

