काठमाडौं । बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय क्षेत्र भारतको विभिन्न भू–भागमा प्रवेश गरेको छ। यसको प्रभावसँगै नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीचमा रहेको कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ।
उक्त मौसम प्रणालीले सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ। त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार देशका विभिन्न स्थानमा वर्षा भएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भू–भागमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

