बाँके । बाँकेको कोहलपुरस्थित होटल म्याक्समा ‘अनलाइन गेम’का नाममा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली नागरिकसमेत रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २८ थान ल्यापटप र विभिन्न कम्पनीका ७८ थान मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उनीहरूले कहिलेदेखि, कसरी र कति रकमको सट्टेबाजी खेलाउँदै आएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका सबैलाई नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले गत भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका १५२ वटा मुद्दा दर्ता गरेको जनाएको छ। प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये सात वटा जघन्य, ५१ वटा गम्भीर र ९४ वटा सामान्य प्रकृतिका अपराधसँग सम्बन्धित छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएकामा ती घटनामा संलग्न १५ जना पक्राउ परेका छन्। यस्तै, आर्थिक अपराधसम्बन्धी २६ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

