धादिङ । अविरल वर्षासँगै पृथ्वी राजमार्गअन्तर्गत धादिङका सात स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिर क्षेत्रमा पहिरो खसेको हो। पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरी पहिरो हटाउने काम जारी छ। तर निरन्तर वर्षा र माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। प्रहरीले थप पहिरो खस्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

