काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६ः३० बजे राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका छन्। उनले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। महासचिव गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै आफ्नो कार्यकालपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।
भेटमा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। त्यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न संयुक्त राष्ट्रसंघको समर्थन जुटाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

