शुक्रबार, ९ असोज २०८३ | २:०४ PM
भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

लगानीबक्स सम्वाददाता ९ असोज २०८३ १२:४८ अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ११ बजेसम्म १ हजार ४५३ जनाको शव फेला परेको छ। प्राप्त विवरणअनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यस्तै, काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको जनाइएको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३३४ वटा शव व्यवस्थापन गरिएको जनाइएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३८९ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी १ हजार ४२१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस्तै, बाढीपछि बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार २०५ जनालाई राखिएको जनाइएको छ।