वासिङ्टन । ट्रम्पसँगको भेटमा सीको आग्रह– ताइवानबारे अमेरिकी नीति स्पष्ट पार्नू वार्तापछि ट्रम्प र सीले पत्रकारका प्रश्नको जवाफ दिँदा ताइवानबारे छलफल भएको हो वा होइन भन्ने स्पष्ट पारेनन्। ट्रम्पले भेटलाई ‘उत्कृष्ट’ भने पनि ताइवान, कृत्रिम बुद्धिमत्ता ९एआई० र हङकङका सञ्चार उद्यमी जिमी लाइको विषयमा सोधिएका प्रश्नको जवाफ दिएनन्। सीले पनि ताइवानसम्बन्धी प्रश्नमा प्रतिक्रिया दिएनन्। तर चीनको सरकारी विवरणमा सीले वार्ताका क्रममा ताइवानको विषय उठाएको उल्लेख छ।
एआईमा संवाद र दुरुपयोग रोक्न सहकार्यको प्रस्ताव
ताइवानसँगै सीले कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अमेरिका र चीनबीच संवाद तथा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। दुवै देशसँग एआई विकास गर्ने क्षमता रहेको उल्लेख गर्दै उनले यसको फाइदा र जोखिमबारे निरन्तर संवाद गर्नुपर्ने बताएका हुन्।
एआईको दुरुपयोग रोक्न संयुक्त प्रयास आवश्यक रहेको र यसको विकास मानव नियन्त्रणमा तथा मानवकेन्द्रित हुनुपर्ने सीको भनाइ थियो। उनले प्रविधि मानवताको प्रगतिमा उपयोगी हुने गरी विकास गर्नुपर्ने धारणा राखेका छन्।
ट्रम्पले पनि एआई भविष्यसँग जोडिएको विषय भएकाले दुवै देशले संवाद कायम राख्न र सहकार्य बढाउनुपर्ने बताएका छन्। यद्यपि एआईको विकास, त्यसमा लागू गरिने नियन्त्रण र प्रविधिगत प्रतिस्पर्धाका विषयमा दुई देशका प्राथमिकता फरक छन्।
व्यापारिक सम्बन्ध स्थिर राख्ने प्रयास
वार्तामा आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्थिर राख्ने विषय पनि प्रमुखताका साथ उठेको थियो। सीले यसै वर्ष मेमा भएको समझदारी कार्यान्वयन गर्दै सहयोगका क्षेत्र विस्तार गर्न र विवादका विषय घटाउनुपर्ने बताएका छन्।
अमेरिका र चीनका आर्थिक तथा व्यापारिक टोलीबीच भएको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको ट्रम्पले बताएका छन्। उनले दुवै पक्षले वार्ता जारी राखेर अझ राम्रो व्यापारिक सम्झौता गर्नुपर्ने धारणा राखेका छन्।
दुई देशबीच पछिल्लो समय व्यापारिक तनाव केही कम भए पनि प्रविधि, शुल्क, बजार पहुँच र रणनीतिक प्रतिस्पर्धाका विषयमा मतभेद कायम छन्। ट्रम्प र सीबीचको वार्तामा व्यापारिक संवादलाई निरन्तरता दिने विषयले ती मतभेद व्यवस्थापन गर्ने प्रयासलाई संकेत गरेको छ।
मध्यपूर्व, युक्रेन र कोरियाली प्रायद्वीपबारे पनि छलफल
वार्तामा मध्यपूर्वको अवस्था, युक्रेन संकट र कोरियाली प्रायद्वीपका विषयमा पनि विचार आदानप्रदान भएको चीनको आधिकारिक विवरणमा उल्लेख छ। सीले अमेरिका र इरानलाई संवाद तथा वार्तामार्फत समस्या समाधान गर्ने प्रक्रियामा फर्कन आग्रह गरेको चीनको विवरण छ। त्यस्तै, सन् २०२६ मा हुने एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको जनाइएको छ।
छ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको यो दोस्रो भेट हो। यसअघि उनीहरू मेमा बेइजिङमा भेटेका थिए। सीको अमेरिका भ्रमणका क्रममा भएको वार्ताले व्यापार, एआई र क्षेत्रीय सुरक्षा जस्ता विषयमा संवाद जारी राख्ने संकेत दिए पनि ताइवानसम्बन्धी अमेरिकी नीतिमा कुनै परिवर्तन भएको सार्वजनिक विवरणबाट पुष्टि भएको छैन।

