काठमाडौं । कञ्चनपुरमा लगातार भइरहेको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा पानीको सतह बढ्दा दुईवटा सीमा स्तम्भ डुबानमा परेका छन्।
दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ नम्बर ७९७/२ डुबानमा परेको हो।
त्यस्तै, पुनर्वास नगरपालिकाको बिचफाँटास्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर ७५९ पनि दोधा नदीमा आएको बाढीका कारण पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
लगातारको वर्षाका कारण सीमा क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सीमा स्तम्भहरू डुबानमा परेको जनाइएको छ। वर्षा जारी रहेकाले सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको छ।

