काठमाडौं । अर्थमन्त्री एवं एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) का लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच कतारको राजधानी दोहामा भेटवार्ता भएको छ।
एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले भेटका क्रममा नेपालमा बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन आग्रह गरेका छन्।
भेटमा एआईआईबी अध्यक्ष जोउले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
परियोजना तयारीमा अनुदान, सहुलियतपूर्ण ऋणमा जोड
अध्यक्ष जोउले एआईआईबीको प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्डमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने जानकारी दिइन्।
त्यस्तै, स्पेसलाइज्ड फन्ड विन्डोअन्तर्गत प्राप्त अनुदान प्रयोग गरी नेपाललाई उपलब्ध गराइने एआईआईबी ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा उनले राखिन्।
नेपाल एआईआईबीको संस्थापक सदस्य राष्ट्र भएकाले आर्थिक विकासका क्षेत्रमा थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष जोउले दोहोर्याइन्।
ऊर्जा र सडक आयोजनालाई तीव्रता दिन आग्रह
भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका नवनियुक्त अध्यक्ष जोउलाई बधाई दिँदै नेपाललाई बैंकले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।
उनले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे।
यस्तै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्याएको क्षतिप्रति अर्थमन्त्री वाग्लेले दुःख व्यक्त गरे।
हरित ऊर्जा र डिजिटल पूर्वाधारमा सहकार्यको प्रस्ताव
अर्थमन्त्री वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायता परिचालन गर्दै नेपालका हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधार विकासमा लगानी बढाउन आग्रह गरे।
त्यसका लागि एआईआईबीको आफ्नै स्रोतसँगै अन्य विकास साझेदार तथा दातृ निकायका स्रोतसमेत परिचालन गर्न उनले आग्रह गरेका छन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।


