काठमाडौं । ४६ दशमलव ६१ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २५ दशमलव १४ प्रतिशत मात्र हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्राप्त गरेको छ ।
यस कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँको आधारमा ४६ दशमलव ६१ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत माघ २५ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो । आयोगले असोज ८ गते सोही पूँजीको आधारमा २५ दशमलव १४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको हो। जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्नुभन्दा अघि विद्युन नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था बमोजिम कम्पनीले आयोगबाट पूर्वस्वीकृति लिएको हो । अब कम्पनीले बोर्डमा निवेदनको प्रक्रिया अघि बढाउनेछ । यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । कम्पनीले ४६ दशमलव ६१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । कम्पनीले रुकुम पूर्व जिल्लाको भुमे र सिस्ने गाउँपालिकामा ५ मेगावाट क्षमताको रुकुम गाढ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ ।


