मंगलबार, १३ असोज २०८३ | ५:५७ PM
सुनचाँदी कारोबारमा नयाँ व्यवस्था,पुरानो गहनाको स्रोत खुलाउनुपर्ने

सुनचाँदी कारोबारमा नयाँ व्यवस्था,पुरानो गहनाको स्रोत खुलाउनुपर्ने

पुरानो गहना बिक्री गर्दा खरिदको प्रमाण आवश्यक

लगानीबक्स सम्वाददाता १३ असोज २०८३ ४:५४ अपराह्न

काठमाडौं । सरकारले सुनचाँदी कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। आन्तरिक राजस्व विभागले ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै सुनचाँदी तथा गरगहनाको बिक्री, पुरानो गहना खरिद–बिक्री, लेखांकन, विवरण पेस र शुल्क दाखिलासम्बन्धी व्यवस्था स्पष्ट गरेको हो। आर्थिक ऐन, २०८३ ले नेपालमा अन्तिम उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाउने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि कार्यविधि जारी गरेको हो।

कार्यविधिअनुसार उपभोक्तालाई बिक्री हुने सुन, सुनका गरगहना तथा वस्तु र चाँदी तथा चाँदीका गरगहनामा बिक्री मूल्यको ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ। व्यवसायीले वस्तु बिक्री गर्ने समयमा नै उक्त शुल्क उपभोक्ताबाट असुल गर्नुपर्नेछ। पुरानो गहना बिक्री गर्दा खरिदको प्रमाण आवश्यक,नयाँ व्यवस्थाले पुरानो सुनचाँदी तथा गरगहनाको कारोबारमा समेत अभिलेख र स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ।

सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी वा सुनचाँदीका गरगहना बिक्री गर्दा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्नेछ। नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर ९प्यान० प्रमाणपत्र वा नेपाल सरकारबाट जारी अन्य परिचयपत्रमध्ये कुनै एक कागजात पेस गर्न सकिनेछ।

त्यसैगरी बिक्री गर्न लागिएको सुनचाँदी वा गरगहना पहिले खरिद गरेको प्रमाणसमेत देखाउनुपर्नेछ। विदेशबाट ल्याइएको सुनचाँदी भए त्यसको स्रोत वा खरिदसम्बन्धी प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। व्यवसायीले ग्राहकबाट पुरानो गहना खरिद गर्दा कारोबारको आवश्यक विवरणसमेत अभिलेखमा राख्नुपर्नेछ।

पुरानो गहना साटेर नयाँ लिँदा शुल्क कसरी लाग्छरु
पुरानो सुनचाँदीको गहना साटेर नयाँ गहना बनाउने कारोबारमा शुल्क लाग्ने र नलाग्ने अवस्था पनि कार्यविधिले स्पष्ट गरेको छ।

ग्राहकबाट पुरानो गहना खरिद गरी सोही ग्राहकलाई पुरानो गहनाको तौल बराबरको मूल्यसम्म नयाँ गहना बिक्री गरेमा त्यसमा सीप प्रवर्द्धन शुल्क नलाग्ने व्यवस्था गरिएको छ।तर पुरानो गहनाको तौलभन्दा बढी सुन वा चाँदी थपेर नयाँ गहना बिक्री गरिएमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्नेछ।

कारोबार भएको वा नभएको दुवै अवस्थामा मासिक विवरण सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ। कारोबारको लेखांकन प्रोद्भावी  आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ। व्यवसायीले प्रत्येक महिनाको कारोबार भएको वा नभएको दुवै अवस्थामा अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा मासिक विवरण पेस गर्नुपर्नेछ।

समयभित्र विवरण पेस नगरेमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण १ हजार रुपैयाँ, जुन बढी हुन्छ, त्यति थप शुल्क लाग्ने व्यवस्था गरिएको छ। उपभोक्ताबाट उठाएको सीप प्रवर्द्धन शुल्क पनि अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयको कोड तथा राजस्व शीर्षक नम्बर ११४१३ मा दाखिला गर्नुपर्नेछ।समयमै शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशत ब्याज लाग्ने व्यवस्था कार्यविधिले गरेको छ।

सुनचाँदी व्यवसायीले आफ्नो पसलबाट गहना निर्माणका लागि कालीगढकहाँ सुन, चाँदी तथा गरगहना पठाउँदा र निर्माणपछि पुनः पसलमा ल्याउँदा तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ। उक्त चलानमा सम्बन्धित कार्यालयको छाप लागेको हुनुपर्ने व्यवस्था गरिएको छ।

गहना निर्माण गर्ने कालीगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्नेछ। यस व्यवस्थाले सुनचाँदी व्यवसायी, कालीगढ र ग्राहकबीच हुने कारोबारलाई अभिलेखमा ल्याउनुका साथै कारोबारको वास्तविक मूल्य तथा परिमाण पहिचान गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

शुल्क छली गरे २५ प्रतिशत अतिरिक्त शुल्क कार्यविधिले सीप प्रवर्द्धन शुल्क छली गर्ने व्यवसायीमाथि अतिरिक्त शुल्कको व्यवस्था पनि गरेको छ। व्यवसायीले शुल्क असुल नगरेमा, बिक्री कारोबारलाई खण्डीकरण गरेमा, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी कम शुल्क असुल गरेमा वा अन्य माध्यमबाट शुल्क छली गरेको पाइएमा निर्धारित सीप प्रवर्द्धन शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।

कारोबार परीक्षणका क्रममा शुल्क छली भएको पाइएमा कर अधिकृतले वास्तविक कारोबारका आधारमा शुल्क निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ। प्रत्येक सुनचाँदी व्यवसायीले आफ्नो पसलमा कार्यविधिले तोकेको ढाँचाअनुसार सूचना पाटी राख्नुपर्नेछ। यसबाट उपभोक्ताले कारोबारमा लाग्ने सीप प्रवर्द्धन शुल्क र सम्बन्धित व्यवस्थाबारे जानकारी पाउने विभागको अपेक्षा छ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार आर्थिक ऐन, २०८३ मा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन शुल्कको प्रशासन, असुली, दाखिला, लेखांकन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्मका प्रक्रिया कार्यविधिमा समेटिएका छन्।

नयाँ व्यवस्थाले सुनचाँदीको बिक्रीमा शुल्क असुली मात्र नभई बिजक जारी गर्ने, कारोबारको लेखांकन गर्ने, मासिक विवरण पेस गर्ने, शुल्क दाखिला गर्ने तथा पुरानो गहनाको स्रोत खुलाउने प्रक्रियालाई समेत औपचारिक बनाएको छ।

सप_परवरदधन_शलक_समबनध_करयवध_२०८३_dzmj4mt