काठमाडौं । दसैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गर्दा यात्रुको आवागमनलाई सुरक्षित, सहज र मर्यादित बनाउन संघीय संसद्को पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायलाई ५ बुँदे निर्देशन दिएको छ।
मंगलबार बसेको समितिको बैठकले चाडपर्वका बेला हुने यात्रुको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै यातायात व्यवस्थापन सुधार गर्न निर्देशन दिएको हो। समितिले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन परिचालन गर्न, जथाभावी सवारी रोक्ने तथा यात्रु चढाउने प्रवृत्ति नियन्त्रण गर्न र निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न भनेको छ। त्यस्तै, तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
सार्वजनिक यातायातलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री बनाउन र विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरी आवश्यक सहजीकरण गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। चाडपर्वका समयमा हुने अत्यधिक चाप र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गरी वैकल्पिक मार्गको तयारी गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ। सवारीसाधनको अनिवार्य प्राविधिक परीक्षण, चालकलाई पर्याप्त विश्रामको व्यवस्था र सवारीसाधनको गति नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, क्षमताभन्दा बढी यात्रु राख्ने अर्थात् ओभरलोड पूर्ण रूपमा नियन्त्रण गर्न, एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन गर्न तथा सम्बन्धित निकायबीच समन्वय कायम गर्न समितिले भनेको छ। हरेक वर्ष चाडपर्वमा यात्रुले टिकट नपाउने र तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने समस्या देखिने गरेको भन्दै समितिले पूर्वाधार विकास मन्त्रालयलाई तत्काल कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको छ।
यात्रुले सहज रूपमा टिकट पाउने व्यवस्था मिलाउन, निर्धारित भाडादर कार्यान्वयन गर्न र गुनासो सुनुवाइका लागि प्रभावकारी संयन्त्र बनाउन पनि समितिले भनेको छ। लामो दूरीका यात्रामा राजमार्गका होटल तथा रेष्टुरेन्टले खाना, खाजा तथा पिउने पानीमा चर्को मूल्य असुल्ने र गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने समस्या रोक्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। यात्रुले उपभोग गर्ने वस्तुको मूल्य र गुणस्तरमा नियमित निगरानी राख्न समितिले भनेको छ।
यसैबीच, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन समितिले यसअघि असोज ५ गते गठन गरेको उपसमितिमा राजु नाथ पाण्डेलाई सदस्य चयन गरेको छ। उपसमितिले चाडपर्वका समयमा यातायात क्षेत्रमा देखिने समस्या तथा यात्रुले भोग्ने कठिनाइको अनुगमन गरी समाधानका लागि आवश्यक पहल गर्नेछ। समितिले सरोकारवालाबाट प्राप्त सुझाव र विचारलाई समेट्दै चाडपर्वको यात्रालाई सुरक्षित तथा कष्टरहित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।
