बुधबार, १४ असोज २०८३ | २:३१ PM
पुँजी बजार सुधारका लागि तीन चरणको रणनीति सार्वजनिक

पुँजी बजार सुधारका लागि तीन चरणको रणनीति सार्वजनिक

लगानीबक्स सम्वाददाता १४ असोज २०८३ १:२७ अपराह्न

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेट्दै तीन चरणको सुधार रणनीति अघि सारेको छ। बोर्डका अध्यक्ष डा। गोपालप्रसाद भट्टले सङ्घीय संसद्को अर्थ समितिको बैठकमा बजारका सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको जानकारी दिए।

बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन्। सुधार प्रक्रियाअन्तर्गत पहिलो चरणमा कन्सेप्ट पेपर तयार गर्ने, दोस्रो चरणमा सम्बन्धित समितिमा छलफल तथा सार्वजनिक परामर्श गर्ने र तेस्रो चरणमा नीतिगत व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अपनाइएको बोर्डले जनाएको छ।

प्राथमिक बजार सुधारअन्तर्गत आईपीओ निष्कासन, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट तथा म्युचुअल फन्डसँग सम्बन्धित नीतिगत सुधार अघि बढाइएको अध्यक्ष भट्टले बताए।

त्यस्तै, दोस्रो बजार सुधारका लागि ब्रोकर कम्पनीको पुनर्संरचनालाई प्राथमिकतामा राखिएको छ। पारिवारिक व्यवसायको सीमित संरचनाबाट माथि उठाएर ब्रोकर व्यवसायलाई व्यवस्थित औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले अघि सारेको छ। ब्रोकरलाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा वर्गीकरण गर्दै स्टक डिलरसिपसहितको बृहत् संरचनामा लैजाने तयारी छ।

अध्यक्ष भट्टका अनुसार नेप्सेको ट्रेडिङ प्रणाली, अर्डर म्यानेजमेन्ट, साइबर सुरक्षा तथा सूचना प्रविधि प्रणाली सुधारका लागि करिब ३१–३२ वटा नियामकीय व्यवस्था तयार पारिएको छ। ती व्यवस्था क्रमशः कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको उनले बताए।

नेप्सेको संरचनागत तथा प्राविधिक सुधारलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ। अर्थ मन्त्रालयको निर्देशनअनुसार रामेश्वर खनाल नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको अध्यक्ष भट्टले जानकारी दिए।उनका अनुसार नेप्सेको कार्यक्षमता र सुशासन सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचना प्रक्रिया अघि बढाइनेछ। नेप्सेको स्वामित्व तथा संरचनागत परिवर्तन सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि नियामकका रूपमा बोर्डले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सुधार अघि बढाउने उनको भनाइ छ।

त्यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया सुरु भएको छ। सीडीएससीलाई भविष्यमा ‘सेन्ट्रल काउन्टर पार्टी’ का रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष भट्टले बताए। यसबाट सेयर कारोबारमा थप सुरक्षा तथा ग्यारेन्टीको व्यवस्था गर्न सकिने बोर्डको अपेक्षा छ।

पुँजी बजारको दायरा विस्तार गर्न इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्सजस्ता नयाँ कारोबार उपकरण भित्र्याउने तयारीसमेत भइरहेको बोर्डले जनाएको छ। नयाँ उपकरण सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा नियामकीय व्यवस्था तयार पार्ने काम अघि बढाइएको अध्यक्ष भट्टले बताए। बोर्डले बजार सुधारमा सरोकारवालाको सहभागिता, पारदर्शी छलफल र चरणबद्ध कार्यान्वयनलाई प्राथमिकता दिँदै पुँजी बजारको संरचनागत तथा प्राविधिक सुधारलाई अघि बढाउने जनाएको छ।