बुधबार, १४ असोज २०८३ | ७:५७ PM
दूरसञ्चार सेवा विस्तारमा सरकारको जोड,२०० नयाँ टावर र १,५९७ स्थानमा…

दूरसञ्चार सेवा विस्तारमा सरकारको जोड,२०० नयाँ टावर र १,५९७ स्थानमा फोरजी विस्तार गरिँदै: सञ्चारमन्त्री तिमिल्सिना

लगानीबक्स सम्वाददाता १४ असोज २०८३ ५:४५ अपराह्न

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण मोबाइल टावर लामो समय सञ्चालन हुन नसक्ने अवस्थालाई सुधार्न सरकारले नेपाल टेलिकमलाई विस्तृत कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइसकेको बताए।

सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’ का रूपमा अघि बढाउन लागिएको बताए। मोबाइल सेवाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नेपाल टेलिकमको नयाँ दुईसय वटा टावर निर्माणसम्बन्धी बोलपत्र मूल्यांकनको चरणमा रहेको उनले जानकारी दिए। टेलिकमले देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न एक हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरणको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको उनको भनाइ छ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले देशभरका नेपाल टेलिकमका टावरमा पावर ब्याकअपको क्षमता बढाउने काम भइरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए। उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको गरिएको छ। यसबाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा आठदेखि १० घण्टा तथा सहरी क्षेत्रमा चारदेखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने उनले बताए।

हाल करिब पाँचसय वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए। थप दुईसय थान ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रियामा रहेको छ।

त्यस्तै, विद्यमान ३२ वटा सोलार साइटमा पावर ब्याकअप प्रणाली तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने कार्यका लागि भएको बोलपत्र सम्झौताको चरणमा रहेको सञ्चारमन्त्री तिमिल्सिनाले बताए। सम्भव भएसम्म सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए।

राष्ट्रिय विद्युत् प्रसारण नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा ब्याट्री जोड्ने तार चोरी हुने गरेको र कतिपय टावरमा भौतिक क्षतिसमेत हुने गरेको सञ्चारमन्त्री तिमिल्सिनाले बताए। यस्ता घटनाका कारण दूरसञ्चार सेवामा पटक(पटक समस्या आउने गरेको उल्लेख गर्दै उनले दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने बताए। सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा करिब ८ करोड ८५ लाख १२ हजार ६८५ रूपैयाँ बराबरको क्षति भएको जानकारी सदनलाई गराए।

रसुवा, नुवाकोट र धादिङमा रहेका एक सय २० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। तीमध्ये त्रिशूली(३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

पूर्णरूपमा क्षतिग्रस्त ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइसकिएको उनले बताए। तीन साइट तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको उनको भनाइ छ। टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार जडान गरी सेवा सञ्चालनमा ल्याइएको सञ्चारमन्त्री डा तिमिल्सिनाले जानकारी दिए।

रसुवा, नुवाकोट र धादिङमा रहेको कुल ६५ दशमलव तीन किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव नौ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकोमा २७ दशमलव चार किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए। वायरलाइन नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका तथा केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेकोमा ती ओएलटीमध्ये अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

त्यस्तै, टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभमा क्षति पुगेको थियो। हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको सञ्चारमन्त्री तिमिल्सिनाले बताए।