बुधबार, १४ असोज २०८३ | ७:२५ PM
स्लोभाकियाको अर्थतन्त्र २०२६ मा शून्य दशमलव ८ प्रतिशतले बढ्ने 

स्लोभाकियाको अर्थतन्त्र २०२६ मा शून्य दशमलव ८ प्रतिशतले बढ्ने 

लगानीबक्स सम्वाददाता १४ असोज २०८३ ७:१७ अपराह्न

काठमाडौं । स्लोभाकियाको अर्थतन्त्र सन् २०२६ मा शून्य दशमलव ८ प्रतिशत र सन् २०२७ मा एक दशमलव ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। स्लोभाकियाको अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रक्षेपणअनुसार अन्तर्राष्ट्रिय व्यापारमा देखिएको तनाव, ऊर्जा संकट, अमेरिकी कर नीति तथा युरोपेली संघमा घट्दो प्रतिस्पर्धात्मकताजस्ता चुनौतीका  अर्थतन्त्रमा सामान्य सुधार आउने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार घरायसी उपभोग र निर्यातमा हुने सुधारले आर्थिक वृद्धिमा सहयोग पुर्‍याउनेछ। स्लोभाकियामा भोल्भोको कार कारखानामा उत्पादन विस्तार हुँदै जानुले पनि औद्योगिक गतिविधि र अर्थतन्त्रलाई थप बल पुग्ने अनुमान गरिएको छ। यसैबीच, मुद्रास्फीति क्रमशः घट्ने प्रक्षेपण गरिएको छ। चालु वर्ष ३ दशमलव ७ प्रतिशत रहेको वार्षिक मुद्रास्फीति सन् २०२७ मा २ दशमलव ९ प्रतिशतमा झर्ने अनुमान छ।

घरपरिवारका लागि ऊर्जा सहायता कार्यक्रमलाई निरन्तरता दिइएकाले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। नागरिकको वास्तविक आम्दानीमा समेत सुधार आउने अपेक्षा गरिएको छ। चालु वर्ष औसत नाममात्रको तलब ४ दशमलव ५ प्रतिशतले बढ्ने र मुद्रास्फीतिको प्रभाव समायोजन गरेपछि वास्तविक तलब आगामी वर्ष १ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

यता, आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सन् २०२७ मा युरो क्षेत्रको आर्थिक वृद्धिको अनुमान १ दशमलव २ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ। फ्रान्स र जर्मनीको आर्थिक वृद्धि क्रमशः शून्य दशमलव ७ प्रतिशत र १ दशमलव १ प्रतिशत रहने अनुमान गरिएको छ।

स्लोभाकियाको अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय नीति संस्थानले आर्थिक प्रक्षेपणमा रहेका जोखिम सामान्य रूपमा सन्तुलित रहेको जनाएको छ। यद्यपि, ऊर्जा मूल्य उच्च रहिरहेमा आर्थिक गतिविधिमा असर पर्नुका साथै सरकारी वित्तमा दबाब पर्न सक्ने चेतावनी दिइएको छ। त्यस्तै, सैन्य द्वन्द्व र व्यापार अवरोधसँग सम्बन्धित अनिश्चितताले निर्यातमा सुधार ढिलो गराउन सक्ने तथा समग्र आर्थिक वृद्धिमा समेत असर पार्न सक्ने मन्त्रालयले जनाएको छ।