काठमाडौं । बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ निवासी अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली खटिई उद्धार कार्य सञ्चालन गरेको थियो।
जिपमा चालकसहित तीन जना सवार रहेकोमा अन्य दुई जना घाइते भएका छन्। घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
