काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले कात्तिक १७ गते ५औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुपण्डोल ब्याङ्क्वेट, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको आधारमा कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । आईपीओ जारी गरेको वर्षको मुनाफाबाटै कम्पनीले लगानीकर्ताका लागि लाभांश वितरण गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन गरी २०८२ साल फागुन १४ गते बाँडफाँट गरेको थियो ।
लाभांश प्रस्तावसँगै सभाले दुधपोखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकलाई दिईएको संस्थागत जमानत अनुमोदन गर्ने र मेवा खोला जलविद्युत आयोजनको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र विक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि असोज २३ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
