काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्र साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीबीच महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा नेपाल–ईयू आर्थिक सम्बन्धका विषयमा छलफल भएको हो। भेटमा अध्यक्ष श्रेष्ठले नेपालको निजी क्षेत्रको क्षमता विकास, निर्यात विस्तार, लगानी प्रवर्द्धन र दिगो आर्थिक विकासमा ईयूको निरन्तर सहयोग आवश्यक रहेको बताए।
नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको संक्रमणलाई सहज बनाउन ईयूको थप सहयोग आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए। उनले व्यापार सहजीकरण, नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, परीक्षण तथा प्रमाणीकरण पूर्वाधार निर्माण, प्राविधिक मापदण्ड पूरा गर्ने क्षमता र निर्यात विविधीकरणमा ईयूको सहयोग बढाउन आग्रह गरे।
नेपालले एलडीसीबाट स्तरोन्नति भएपछि अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यातका क्रममा थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएकाले नेपाली उत्पादनको गुणस्तर, प्रमाणीकरण र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने क्षमता बढाउनुपर्नेमा महासंघले जोड दिएको छ।
विशेषगरी नेपाली तयारी पोसाक, गलैंचा, फेल्ट, पश्मिना, चिया, कफी, मसला, हस्तकला तथा वनस्पतिजन्य उत्पादनको युरोपेली बजारमा पहुँच विस्तारका लागि सहकार्य गर्न महासंघले आग्रह गरेको छ। युरोपेली बजारका मापदण्ड, गुणस्तर, ट्रेसिबिलिटी तथा दिगोपनासम्बन्धी आवश्यकता पूरा गर्न निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने महासंघको भनाइ छ।
भेटमा महासंघले नेपालमा युरोपेली लगानी आकर्षित गर्न सकिने क्षेत्रबारे पनि ध्यानाकर्षण गराएको थियो। जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा बीपीओ, उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पूर्वाधार र डिजिटल सेवामा लगानीको सम्भावना रहेको महासंघले जनाएको छ।
नेपालमा लगानीको वातावरण सुधारका लागि नीतिगत स्थिरता, प्रभावकारी सरकारी सेवा, भन्सार प्रक्रियाको सरलीकरण तथा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए।
भेटमा राजदूत ह्वाइटलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि ईयूको निरन्तर साथ र सहयोग रहने बताए। नेपाल एलडीसीबाट स्तरोन्नतिको महत्वपूर्ण चरणमा रहेकाले त्यसका लागि आवश्यक तयारी, संक्रमण व्यवस्थापन तथा दिगो आर्थिक विकासमा ईयूले सहयोगलाई निरन्तरता दिने उनले बताए।
उनले नेपाल–ईयू सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि, निजी क्षेत्र तथा आर्थिक साझेदारीका क्षेत्रमा थप विस्तार गर्न सकिने बताए।
भेटमा नेपाल र ईयूबीच निजी क्षेत्रको क्षमता अभिवृद्धि, निर्यात प्रवर्द्धन, लगानी सहजीकरण, हरित तथा डिजिटल अर्थतन्त्र, जलवायु उत्थानशील पूर्वाधार र एलडीसीबाट स्तरोन्नतिपछिको व्यापारिक संक्रमणमा सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो।
छलफलमा युरोपेली संघको प्रतिनिधिमण्डलका उच्च अधिकारी तथा महासंघका महानिर्देशकसहितका पदाधिकारी सहभागी थिए।
