काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। विश्व बैङ्क समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको हो।
उक्त भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटिएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैङ्क, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी)का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
छलफलका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।
साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ।
