आइतबार, १८ असोज २०८३ | १:५३ PM
बाजुरामा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दु शल्यक्रिया सफल

बाजुरामा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दु शल्यक्रिया सफल

लगानीबक्स १८ असोज २०८३ १२:०१ अपराह्न

काठमाडौं । बुद्ध एयरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्र बहादुर बस्नेतको स्मृतिमा बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ।

शिविरअन्तर्गत शनिबार ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ भने ४२५ जनाको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा आवश्यकताअनुसार बिरामीहरूलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको थियो।

दूरदराजका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविर आज र भोलिसम्म निरन्तर जारी रहने जनाइएको छ। शिविरबाट बाजुरा तथा आसपासका क्षेत्रका सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।