चितवन । चितवनको कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा ट्याक्टर र बोलेरो जिप एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो १ः३५ बजे मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बोलेरो जिप ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ निवासी ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा दिउँसो २ः३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालकसहित अन्य १० जना घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्याएको थियो। प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ निवासी ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ। जिप चालक घाइते भएकाले अस्पतालमै उपचाररत रहेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
